राजस्थान रोयल्ससँग चेन्नई १६ रनले पराजित

27

एजेन्सी – यूएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।मंगलबार यूएईमा भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

सारजाहमा क्रिकेट मैदानमा जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सक्यो ।

कप्तान महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा टम कुरानलाई लगातार तीन छक्का प्रहार गरे पनि चेन्नईलाई दोस्रो खेलमा भने जित दिलाउन सकेनन् । फाफ डु प्लेसिसले लगातार दोस्रो अर्धशतक बनाउने क्रममा ३७ बलमा ७२ रन जोडे । डु प्लेसिसले १ चौका र ७ छक्का प्रहार गरे ।

मुरली विजय २१, शेन वाटसन ३३, साम कुरान १७ र केदार जादब २२ रनमा आउट भए । धोनी १७ बलमा २९ रन बनाई अविजित रहे । राजस्थानका स्पिनर राहुल टेवाटिआले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चर, श्रेयस गोपाल र टम कुरानले १–१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रनमा क्याच आउट हुन पुगे ।

त्यस्तै, कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । ओपनर यशस्वी जैसवाललाई दीपक चहरले तेस्रो ओभरको दोस्रो बलमा ६ रनमा कट एण्ड बोल्ड आउट गरे । त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । १२ औं ओभरको अन्तिम बलमा डेभिड मिलर शून्यमा रन आउट भए ।

चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्ने छन् ।

समाचार वर्गहरू