काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद राजेन्द्र लिङ्देनको दुबै फोक्सोमा गम्भीर निमोनिया देखिएपछि अस्पताल भर्ना भएका छन् ।
पार्टीको कामको शिलशिलामा गृह जिल्ला झापामा रहेका लिङ्देनलाई निमोनियाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार साँझ सेनाको नाईटभिजन हेलिकप्टरबाट काठमाडौं ल्याईएको हो ।
बिर्तामोडको बीएण्डसी अस्पतालको आईसीयूमा भर्ना भएका लिङ्देनलाई सेनाको हेलिकप्टरले झापाबाट त्रिभुवन विमानस्थल ल्याएको हो । विमानस्थलबाट उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार बिहान बिर्तामोडको बीएण्डसी अस्पतालको आईसीयूमा भर्ना भएका लिङ्देनलाई निमोनिया भएको पाइएको थियो ।
उनका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि लिङ्देनले तीन दिन बिर्तामोडको कञ्चनजंगा अस्पतालमा उपचार गराएका थिए । त्यसपछि बिहीबार विहान बीएण्डसीमा सारिएको हो । बुधबार गरिएको परीक्षणमा उनमा कारोना रिपोर्ट नेगेटिभ आएको छ ।
सबै लक्षण कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो देखिएकाले बिहीबार पुनः उनको स्वाब लिइएको छ । उनलाई कोरोना संक्रमण भएको आशंका गरेपनि पीसीआर रिपोर्ट आउन बाँकी छ ।