काठमाडौं – राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्न भनेर सोमबार पञ्चायतका पुराना नेता नवराज सुवेदीको नेतृत्वमा घोषणा गरिएको जनआन्दोलन समिति प्रारम्भमै विवादित बनेको छ ।
यस समितिमा अस्मिता भण्डारी, कमल थापा, दुर्गा प्रसाई, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, राजेन्द्र लिङ्देन, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत सदस्य छन् ।
सबै राजावादीलाई एक ठाउँमा ल्याएर आन्दोलन गर्ने उद्देश्यले सुवेदीको नेतृत्वमा समिति गठन गरिएको भनेपनि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले त्यसप्रति असहमति प्रकट गरेका छन् ।
‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले पनि समाचारबाट थाहा पाएको छु, म त्यहाँ उपस्थित छैन । हामीसँग त्यसबारे सरसल्लाह पनि गरिएको छैन,’ लिङदेनले भने, ‘राजसंस्था मान्नेहरूको बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं । तर, हाम्रा प्रतिनिधिसँग पनि सरसल्लाह नगरी समिति घोषणा गरिएछ । सोधिएन, एकैचोटि घोषणा भयो ।’
यसैगरी सदस्य भनी नाम उल्लेख गरिएका राजावादी अभियन्ता केशर बहादुर बिष्टले पनि आफूलाई यस समिति गठनबारे कुनै जानकारी नभएको भन्दै यस्तो समितिमा आफू नबस्ने बताएका छन् ।
सदस्यमा राखिएका अर्का सदस्य एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने, ‘समिति बनेको छ भनेर मलाई थाहा थिएन । यसरी गठन भएको समितिमा बस्ने कुरै आउँदैन ।’
यस्तै सल्लाहकार राजेश अहिराजले पनि आफूलाई नसोधी नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।