राष्ट्रपतिदेखि शीर्ष नेतासम्मले दिए संविधान दिवसको शुभकामना

10

काठमाडौँ – नेपालको संविधान २०७२ जारी भएको आज ६ वर्ष पूरा भएको छ । वि.स.२०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधान २०७२ जारी भएको घोषणा गरेका थिए ।

उक्त दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते नै संविधान दिवस मनाउने गरिएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपतिदेखि प्रमुख दलका शीर्षनेताहरुसम्मले शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई  राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आह्वान गरेकी हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनले ३ असोज इतिहासकै स्वर्णिम दिन भएको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध, २०६२-६३ को जनआन्दोलनलगायत विभिन्न आन्दोलनमा शहादत प्राप्त गर्ने वीर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुख, शान्ति, समृद्धि एवम् समुन्नति तथा समृद्धिको शुभकामना दिएका छन् ।

संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश दिँदै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकले संविधानअनुसार परिवर्तित व्यवस्थाको प्रतिफल प्राप्त गर्न सक्ने गरी संविधान कार्यान्वयन गर्न भएका पहलको गम्भीर समीक्षा गर्दै अगाडि बढ्न सबैलाई आग्रह गरेका हुन‍्।

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको बताएका छन् ।  दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रम देउवाले मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै रहेको चर्चा गरेका छन् ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् ।

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन् ।

समाचार वर्गहरू