राष्ट्रपति पौडेल र समकक्षी एमहर्डबीच भेटवार्ता

8

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीट्जरल्याण्डको बर्नमा भेटवार्ता भएको छ ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ को उद्घाटन सत्रमा मुख्य वक्ताका रुपमा सहभागी हुन पुगेका राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । 

त्यसअवसरमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणाली र राजनीतिक अधिकार सुनिश्चित भएपछि नेपालको आवश्यकता र प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको र लोकतन्त्रलाई दिगो बनाउन आर्थिक विकास अपरिहार्य रहेको बताए ।

“सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन प्रयत्नशील छ, यसलाई सतत्, दिगो तथा अपरिवर्तनीय बनाउन आवश्यक छ । यस ऐतिहासिक विकास लक्ष्य हासिल गर्न हामीलाई धेरै स्रोतसाधन, प्रविधि, लगानी तथा आार्थिक सहकार्यको आवश्यकता छ”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भ्रमण दलमा सहभागी राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

राष्ट्रपति पौडेलले नेपालको आर्थिक सामाजिक विकासमा सन् १९५० को दशकदेखि स्वीस सरकारले गरेको सहयोगले नेपालीको मन जितेको बताउँदै नेपाल सरकारले स्वीस लगानीकर्तालाई नेपालमा स्वागत गर्न चाहेको र यसका लागि आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको विश्वास दिलाएको पनि पोखरेलले जानकारी दिए । 

त्यसअवसरमा स्वीट्जरल्याण्डका राष्ट्रपति भियोला एमहर्डले नेपाललाई आफूहरूले कुन क्षेत्रमा सहयोगको आवश्यकता रहेको हो त्यसमा सहयोग गर्न आफूहरू तयार रहेको बताएकी थिइन् ।

पौडेलले नेपाल भ्रमणका लागि आमन्त्रण गरेकामा स्वीस राष्ट्रपति एमहर्डले समय मिलाएर उपयुक्त समयमा नेपालको भ्रमण गर्ने विश्वास दिलाएको जनाइएको छ । 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू