राष्ट्रपति भण्डारी आज बंगलादेश जाँदै

39
फाइल फोटो

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि सोमबार त्यसतर्फ जाँदै छिन् । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको निमन्त्रणमा राष्ट्रपति भण्डारी भोलि ढाका जान लागेकी हुन् ।

वायु सेवा निगमको विशेष चार्टर विमानमार्फत राष्टपति भण्डारी बिहान पौने ९ बजे बंगलादेश उड्ने कार्यक्रम तय भएको छ राष्ट्रपति कार्यालये जनाएको छ । उनी स्थानीय समय अनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् ।

उनलाई बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् । बंगलादेशमा भण्डारीको दुई दिने व्यस्त कार्यतालिक छ । राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ सम्मान गरिनेछ । सो पश्चात् उनी त्यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलीका लागि पुग्नेछिन् ।

उनले सोमबार नै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम रहेको छ । बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक हप्तासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ ।

सो कार्यक्रममा भण्डारी नेपाल–बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ । त्यसैगरी भण्डारी समकक्षीले आयोगजना गर्ने रात्रिभोजमा सहभागी हुने छिन् ।

दुई दिने भ्रमणका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता लगायत कम्तीमा चार वटा समझदारी पत्रमा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिका छोरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सञ्चार विज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा.हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र राष्ट्रपतिका स्वकीय सचिवालयका प्रमुख डा.भेषराज अधिकारी रहने छन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा. कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा रहेका छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईको नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी रहने छन् ।

समाचार वर्गहरू