काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी पर्सि बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् । परराष्ट्र मन्त्रालयले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्सि बुधबारबाट सुरु हुने म्यानमार भ्रमणको तालिका सार्वजनिक भएको हो ।
मन्त्रालयले तालिका सार्वजनिक गर्दै राष्ट्रपति भण्डारी ५ दिने राजकीय भ्रमणका लागि पर्सि म्यानमार जाने उल्लेख गरेको हो । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।
म्यानमारका समकक्षीले आयोजना गर्ने राजकीय भोजमा पनि राष्ट्रपति भण्डारी नेतृत्वको टोली सहभागी हुनेछ । त्यहाँ रहेका नेपालीभाषीसँग समेत राष्ट्रपति भण्डरीले भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली समेत सहभागी हुनेछन् ।