राष्ट्रपति भण्डारी र भारतका राष्ट्रपति कोविन्दबीच भेटवार्ता

14

(काठमाडौं, रासस) — जापान भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा भाग लिन त्यहाँ पुगेकी राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोविन्दबीच उनीहरु बसेकै होटलमा भेटवार्ता भएको हो ।

सो अवसरमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिइन् । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका छन् ।

आयोजनाहरु छिट्टै बन्ने :

उक्त अवसरमा दुवै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो । भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धा्रित समय भन्दा छिटो बन्नु नमूना योग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास बैरागीले जानकारी दिए । दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे ।

दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ । नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।

नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास बैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मा लगायत सहभागी थिए ।

समाचार वर्गहरू