काठमाडौं – चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिनपिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच आइतबार बिहान साढे दश बजे राजधानीस्थित होटल सोल्टीमा करिब आधा घण्टा भएको भेटवार्ता भएको हो ।
भेटवार्ता दुई देश र दुई देशका कम्युनिष्ट पार्टीका सम्बन्ध र विकास बारे छलफल भएको थियो । अध्यक्ष दाहालले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा भएको चीनको भ्रमण, त्यस पछिका भ्रमण र गोवामा भएको भेटवार्ताको स्मरण गराएका थिए ।
अध्यक्षले चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले नेपाल र नेपाली जनताका लागि गरेको सहयोग र सद्भावप्रति आभार व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चीन जस्तो छिमेकी पाउँदा आफूलाई गर्व महसुश भएको पनि बताए ।
दुई कम्युनिष्ट पार्टी बीचको आपसी सम्बन्धलाई नयाँ स्तरमा विकास गर्ने र एकअर्काका अनुभवहरु साटासाट गरेर अगाडि बढ्ने उनले प्रतिवद्धता जनाए ।
उनले भने, ‘नेपालको समृद्धिमा चिनियाँ सरकार र कम्युनिष्ट पार्टीको सहयोग आगामि दिनमा अझ बढ्ने मैले विश्वास लिएको छु ।’ अध्यक्ष दाहालले बीआरआईमा हस्ताक्षर गरी नेपाल र चीन बीचको सम्बन्धमा नयाँ युगको सुरुवात भएको बताए ।
उनले दुबै देश र जनताको हितको निम्ति समयसीमा निर्धारण गरी आयोजनाहरुको छनौट र तीब्र क्रियान्वयनमा जोड दिनुपर्ने बताए । विकास बिना राजनैतिक स्थायित्व हासिल गर्न नसकिने बताउनुहुँदै समृद्ध चीन नेपालका लागि अवसर भएको उनको भनाई थियो ।
राष्ट्रपति सी जिनपिङले दुबै पार्टीका अनुभव साटासाट गर्ने साझा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए । राष्ट्रपति सीले नेपाली जनताले कम्युनिष्ट पार्टीलाई हृदयदेखि मन पराएको जानकारी गराउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
‘देशको आर्थिक विकास मुख्य कुरा हो, विकास गरेर नै जनताको मन जित्न सकिन्छ,’ राष्ट्रपति सीको भनाई थियो । उनले कम्युनिष्ट पार्टीका लागि सिद्धान्त ठूलो कुरा भएको भन्दै यसलाई अझै मजबुत बनाउनुपर्ने बताए । राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीचको भेटमा पार्टीका सचिवालय सदस्यहरुको पनि उपस्थिति थिए ।