काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि भइरहेको तयारीबारे स्थलगत निरीक्षण गरेका छन् ।
चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री आफैले स्थलगत निरीक्षण गरेका हुन् । शनिबार बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सीको सवारी हुने बाटाहरु हुँदै सोल्टी होटलसम्म निरीक्षण गरेका हुन् ।
सीको सुरक्षाका लागि सरकारले उच्च सुरक्षा सर्तकता अपनाएको छ । साथै भव्य स्वागतको तयारी समेत गरिरहेको छ ।
बालुवाटार स्रोतका अनुरसार ‘एक पटक आफैं हेरौं न भनेर निरीक्षणमा निस्कनु भएको हो ।’ शुक्रबार भारतको यात्रामा निस्केका सी शनिबार त्यहाँको भ्रमण सकाएर चेन्नईबाट नेपाल आउन लागेका हुन् । उनको स्वागतको लागि विमानस्थल तथा उनी बस्ने होटल सोल्टीसम्मको सडक दुवैतर्फ विशेष तवरबाट सिँगारिएको छ ।
विशेष विमानबाट अवतरण गरेपछि राष्ट्रपति सीले केहीबेर विश्राम लिने र त्यसपछि भेटघाटका कार्यक्रमलाई तीव्रता दिने कार्यतालिका रहेको छ । सडकका विभिन्न स्थानमा नेपाल र चीनको मित्रता झल्किनेगरी गेट बनाइएको छ भने फूलका गमलाले सडकका दुवै किनारा रंगीन बनाइएको छ । सडक कालोपत्रे गरिनुका साथै रंगरोगन समेत गरिएको छ ।
यसैबीच, चिनियाँ राष्ट्रपति सीको सवारीका क्रममा सडक किनारा पनि खाली गराइने भएको छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।
काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाइनेछ । राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।