(काठमाडौं) – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य डा. मिनेन्द्र रिजालले भारतीय एक टेलिभिजन बहसमा दिएको जवाफका कारण सामाजिक संजालहरुमा उनको उच्च प्रशंसा भइरहेको छ । सीमा विवाद र राष्ट्रियताका सवालमा उनले फर्काएको जवाफको सर्बत्र प्रशंसा भइरहेको छ।
नेपाल भारत सीमा विवाद र नेपाल सरकारले जारी गरेको नयाँ नक्साका बारेमा भारतको रिपक्लीक टिभीका पत्रकार अर्णब गोस्वामीसँगको बहसमा डा. रिजालले चीनको उक्साहटमा नेपालले नयाँ नक्सा जारी गरेको भन्ने आरोपलाई ठाडो खण्डन गरिदिएका थिए ।सामाजिक संजाल प्रयोकर्ताहरुले डा. ‘रिजालको जवाफलाई धेरै नेपालीले आफ्नै मनको जवाफ’ भनेका छन् ।
डा. रिजालले नक्सामा समेटिएका भुभाग आफ्नो भएको पुष्टि गर्न यथेष्ट प्रमाण नेपालसँग भएको बहसका क्रममा स्पष्ट पारेका थिए। उनले यस विषयमा चीनलाई जोड्नु कुनै तुक नभएको पनि बताए ।पत्रकार गोस्वामीले संसारभरी चीन एक्लो भएको र त्यसैको निर्देशनमा नेपाल चलेको व्याख्या गरेपछि धेरै भूमिका नबाधी प्रश्न सोध्न डा. रिजालले सुझाएका थिए ।
नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र ? भन्ने प्रश्नमा नेता रिजालले ‘हजारौं विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौं’ भनेका थिए ।
डा रिजालले बहसका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिए । बहसका क्रममा प्रश्तोताले चिनियाँ कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भनेर ओलीले भनेको भन्दै विषयान्तर गर्न खोजेकोमा पनि डा रिजालले ठाडै प्रतिवाद गरे ।
सीमा विवादका विषयमा बोलिरहेका बेला प्रश्नकर्ताले विचमै फरक प्रशंग जोड्न खोजेपछि डा. रिजालले ‘आफ्नो उत्तर सुन्न’, सार्वभौम देशका नागरिकलाई सम्मान गर्न नसक्नेले कसरी देशको सम्वन्ध राम्रो बनाउन सक्छ भन्दै प्रतिप्रश्न गरेका थिए ।
कांग्रेस नेता गगन थापाले सीमाको सन्दर्भमा नेकाको धारणामा थप स्पष्ट हुन चाहनेले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टीभीमा कांग्रेस नेता मिनेन्द्र रिजाल अन्तर्वार्ता हेर्न आग्रह गर्दै ट्वीट समेत गरेका थिए।
टेलिभिजन बहसलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाइरहेका छन् । बुधबार साँझ भएको बहसमा डा.रिजालसँगै दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमाल, रिपब्लिकाका सम्पादक सुवास घिमिरे र केही भारतीय अतिथि सहभागी थिए । रिमाल र घिमिरेले पनि नेपालको पक्षमा खुलेरै तथ्य सहित आफ्नो धारणा राखेका थिए।