काठमाडौं – राष्ट्रिय सभाको सातौं अधिवेशन आज (शुक्रबार) बाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको मात्रै अधिवेशन सुरु हुन लागेको हो ।
प्रतिनिधिसभा विघटन भएको र यसबारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा आजबाट राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।
अघिल्लो अधिवेशन अन्त्य भएको पर्सि शनिबार ६ महिना पुग्ने भएपछि बाध्यात्मक अवस्थापछि सरकारले भोलिबाट राष्ट्रिय सभाको अधिवेशन बोलाएको हो । पहिलो बैठक भोली अपरान्ह ४ बजे सुरु हुनेछ ।
नेकपाको दाहाल–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेस लगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर, राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ ।
राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले आज बस्ने पहिलो बैठकका लागि कार्यसूची तय गरेको छ । अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको पत्र पढेर बैठकको सुरुवात हुनेछ । अधिवेशनको पहिलो बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका तर्फबाट नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
राष्ट्रियसभामा नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको प्रतिनिधित्व छ । आजको बैठकमा छैठौं अधिवेशनपछि जारी भएका अध्यादेशहरु समेत टेवल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट यो बीचमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश लगायत ७ वटा अध्यादेश जारी भएको थियो । यस्तै बैठकमा दिगो विकास तथा सुशासन समितिले आफ्नो प्रतिवेदन पेस गर्नेछ भने थारु आयोग, मधेशी आयोग लगायत संवैधानिक आयोगहरुको प्रतिवेदनहरु पनि टेवल हुनेछन् ।