(काठमाडौं) – राष्ट्रियसभाका एक तिहाई सदस्यको लागि आज बिहीबार मतदान हुँदैछ । सातै प्रदेशका उच्च अदालत रहेका जिल्लामा तोकिएको मतदान केन्द्रमा आज बिहान १० देखि अपरान्ह ४ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थापकीय काम सकिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको राष्ट्रियसभा सदस्य निर्वाचनमा मतभार फरक/फरक रहेकाले आयोगले मतपत्र पनि फरक/फरक बनाएको छ । प्रदेश १ मा विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृह, प्रदेश २ मा जनकपुर उपमहानगरपालिकाको महेन्द्र नारायणनिधि स्मृति भवन, बागमती प्रदेशको ललितपुर महानगरपालिका वडा नं ४ वडासमितिको भवन, गण्डकी प्रदेशको जिल्ला निर्वाचन कार्यालय कास्की परिसरमा मतदानस्थल तोकिएको छ ।
प्रदेश ५ को घोराही उपमहानगरपालिकाको कर्मचारी मिलन केन्द्रको भवन, कर्णाली प्रदेशको जिल्ला निर्वाचन कार्यालय सुर्खेत परिसर र सुदूरपश्चिम प्रदेशको सिलगढी नगरपालिकाको पद्म पब्लिक मुक्ति नारायण उच्च माध्यमिक विद्यालयमा मतदानस्थल तोकिएको छ ।
प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ र स्थानीय तहका प्रमुख र उपप्रमुख २८४ गरी ३६७ जना, प्रदेश २ मा प्रदेश सभा सदस्य १०७ र स्थानीय तहका प्रमुख उपप्रमुख २७२ गरी ३७९ जना, वागमती प्रदेशमा प्रदेश सभा सदस्य ११० र स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना, गण्डकी प्रदेशमा प्रदेश सभा सदस्य ६० र स्थानीय तहका प्रमुख र उपप्रमुख १७० गरी २३० जना मतदाता छन् ।
प्रदेश ५ मा प्रदेश सभा सदस्य ८७ र स्थानीय तहका प्रमुख र उपप्रमुख २१८ गरी ३०५ जना, कर्णाली प्रदेशमा प्रदेश सभा सदस्य ४० र स्थानीय तहका प्रमुख र उपप्रमुख १५८ गरी १९८ जना, सुदूरपश्चिम प्रदेशमा प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख र उपप्रमुख १७६ गरी २२९ जना मतदाता छन् ।
प्रदेश सभा सदस्यको मतपत्रमा हरियो मसीको प्रयोग गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्रमा रातो मसीको प्रयोग गरिएको श्रेष्ठले बताए । प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ तोकिएको छ । विभिन्न ६ दलका ४५ जना चुनावी मैदानमा छन् ।
प्रदेश सभाका ५ सय ५० र स्थानीय तहका एक हजार ५ सय ६ गरी दुई हजार ५६ जना मतदाता छन् । प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, बागमती र गण्डकी प्रदेशमा २ र २ जना, प्रदेश ५ मा ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २ र २ जना गरी १८ सदस्यको निर्वाचन हुँदैछ ।