(काठमाडौं) – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने बताएका छन् । प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट आज विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिएका हुन् ।
यसैगरी प्रधानमन्त्री ओलीले रानी जमरा कुलरीया सिंचाइ आयोजना, सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेनस मार्फत नै ति परियोजनामा विभिन्न ठाउाहरुमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गरे ।
प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री, सचिव र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिए । “कामले गति त लिएको छ तर समय सीमा भित्र सक्नलाई अझै धेरै गति दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनुहोस ।”
प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न, सूक्ष्म रुपले अध्ययन गर्न, त्यहाँका समस्या सुन्न, सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिए ।
“परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानून, प्रादेशिक कानून वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भने, “हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ । ”