राष्ट्रिय महिला तथा पुरुष भलिबलमा एपीएफ र आर्मी विजयी

24

(काठमाडौं) – आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत, आज भएको महिला तर्फको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको पहिलो खेलमा एपीएफले जावलाखेल भलिबल सेन्टर जेभीसीलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । एपीएफले जेभीसी माथि २५–४, २५–८, २०–८ को सेटले पराजित गर्याे ।

यस्तै, महिला तर्फकै दोश्रो खेलमा त्रिभुवन आमीले भरतपुर मेट्रो खेलकुद परिषद बीएमसीलाई ३–० सेटले पाखा लगायो । आर्मीले बीएमसीलाई २५–८, २५–२०, २५–१० अंकले पराजित गर्याे । आजै, भएको पुरुष तर्फको पहिलो खेलमा नयाँ बजार सामाजिक युवा क्बल एनवाईसीले आरजी भलिबल ग्रुपलाई लाई ३–० को सेटमा पाखा लगायो ।

एनवाईसीले आरजी ग्रुपलाई २५–२०, २५–१६, २५–१८ अंकले पराजित गर्‍यो । एनवाईसीको पहिलो जित हो भने आरजीजीको यो दोश्रो हार हो । पुरुष तर्फको दोश्रो खेलमा नेपाल पुलिस क्लबले पार्वती भलिबल क्लब (पीभीसी) बाट वाक ओभर पायो ।

प्रतियोगिता अन्तर्गत भोलि पुरुष तर्फ पीभीसी र मणिमुकुन्द भलिबल क्लब तथा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछ । प्रतियोगिता माघ १० गतेसम्म चल्नेछ ।

समाचार वर्गहरू