काठमाडौँ – सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले मुनाफाको हिसाबले आर्थिक वर्ष २०७६/७७ मा पनि आफ्नो अग्रतालाई कायमै गरेको छ ।
गत वर्ष चार अर्ब ४५ करोड रुपियाँ मुनाफा आर्जन गरेको बैङ्कले कोरोनाको सङ्क्रमणले गर्दा मुनाफा ११.७७ प्रतिशतले घटेको भए पनि वाणिज्य बैङ्कहरूमध्ये अग्रणी कायम भएको छ । अघिल्लो आर्थिक वर्ष २०७/७६ मा वाणिज्य बैङ्कको नाफा पाँच अर्ब चार करोड रुपियाँ थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैङ्ककोे वितरणयोग्य नाफा एक अर्ब तीन करोड ५८ लाख ९५ हजार रुपियाँ रहेको छ । यो नाफाबाट बैङ्कले ११.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । सञ्चालन नाफा समीक्षा अवधिमा ४३ करोड ७० लाख रुपियाँ घटेर छ अर्ब तीन करोड रुपियाँमा सीमित भएको छ । बैङ्कले कर्जाको ब्याज एथावत राख्दै निक्षेपको मात्रै ब्याज बढाएको छ । निक्षेप ब्याज खर्च ५५ प्रतिशतले बढेको छ भने ब्याज आम्दानी १४ प्रतिशतले मात्रै बढेको छ ।
असार मसान्तसम्ममा बैङ्कले दुई खर्ब ३० अर्ब ८२ करोड ७७ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब ५० अर्ब ८० करोड ८० लाख रुपियाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा बैङ्कले निक्षेप सङ्कलन ४१ अर्ब ५७ करोड २३ लाख र कर्जा लगानी आठ अर्ब ७८ करोड ५१ लाख रुपियाँले वृद्धि भएको हो । बैङ्कको चुक्ता पुँजी नौ अर्ब ४७ लाख ९५ हजार ७०० रुपियाँ रहेको नौ अर्ब चुक्ता पुँजी भएको वाणिज्य बैङ्कको १३ अर्ब रुपियाँ जगेडामा रहेको छ । बैङ्कको जगेडा कोषको आकार एक अर्ब ९० करोड २३ लाख रुपियाँले बढेर १३ अर्ब आठ करोड रुपियाँ र सेयरधनी कोषमा एक अर्ब ३५ करोड ३४ लाख २४ हजार रुपियाँ सञ्चित रहेको बैंकले जनाएको छ ।
बैङ्कको कर्मचारी खर्चमा पनि गत वर्षको तुलनामा १८ करोड रुपियाँले कमी आएको छ भने नेट अपरेटिङ प्रोफिट गत वर्षको तुुलनामा खुद ब्याज आम्दानी घटेको जति नै ६.७६ प्रतिशतले घटेर गत वर्ष छ अर्ब ४७ करोड सञ्चालन नाफा थियो । यसपालि छ अर्ब तीन करोड रुपियाँ मात्रै भयो । अर्को गैरसञ्चालन आम्दानी अप्रसेन गरेको कर्जाबाट १४ करोड ६४ लाख असुली गरेको थियो भने यस वर्ष २९ करोड ७६ लाख गरेको हो ।