काठमाडौँ – राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५५औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन ३० बर्षको उमेरमै उनको निधन भएको थियो ।
युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको रामायण विसं १९४१ मा लोकलयमा छापेर सार्वजनिक गरेका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याएका थिए ।
भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गरेका थिए । उनका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।