काठमाडौं – राष्ट्रिय सभाका चार वटा समिति सभापतिमा पुरानै व्यक्ति दोहोरिने भएका छन् । राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्यअवधि पूरा भएका कारण समितिहरुको पुनर्गठन गत साता गरिएको थियो ।
सदस्यहरुको मनोनयनपछि सभापति चयनका लागि प्रारम्भ चुनावी प्रक्रियामा चारैवटा समितिमा पूरानै व्यक्तिहरु एकल उम्मेदवारी परेको छ ।
चार समितिमध्ये पुरानै भागबन्डाअनुसार प्रतिपक्षी कांग्रेसले एउटा समिति र बाँकी तीन वटामा नेकपाले उम्मेद्वारी दिएको हो । समिति सभापतिका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको थियो ।
औपचारिक घोषणा भने सम्बन्धित समितिको भोलि बस्ने बैठकबाट हुने राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले बताए । दीगो विकास तथा सुशासन समिति सभापतिमा कांग्रेस सांसद तारादेवी भट्टको उम्मेदवारी परेको छ ।
विधायन व्यवस्थापनको सभापतिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारी तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) दोहोरिएका छन् ।
दुवै दलका सांसद संयुक्त रुपमा उम्मेद्वारको प्रस्तावक र समर्थक बसेका छन् ।