काठमाडौं – राष्ट्रिय सभाको सातौं अधिवेशन आज आइतबार अन्त्य हुने भएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो ।
राष्ट्रिय सभाको सचिवालय स्रोतका अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसको जानकारी कार्यव्यवस्थाको बैठकमा दिएका थिए । प्रधानमन्त्री निवासमा आजै बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति समक्ष सिफारिस पनि पठाइसकेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक औपचारिकताका लागि पुस १७ गते बोलाइएको थियो । त्यसपछि दुई बैठक मात्रै बसेका थिए ।
आज तेस्रो बैठक बसेपछि सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको हो । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा राष्ट्रियसभा बैठक आजै अन्त्य हुनेबारे जानकारी गराएका थिए ।