काठमाडौं – भोलि हुने राष्ट्रिय सभाका अध्यक्षको चुनावका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
राष्ट्रिय सभा अध्यक्षमा नेपाली कांग्रेस र सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुँदैछ । साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।
दुवै दलले आआफ्ना उम्मेदवार उठाउने निर्णय गरिसकेका छन् । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायण दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । हिजो बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यस्तै नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट २०७८ सालमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।