काठमाडौं – सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
उपप्रधान एंव अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले गभर्नरका लागि विश्व पौडेल, निलम ढुंगाना तिम्सिना र दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै गत चैत २५ गतेदेखि राष्ट्र बैंकमा गर्भनर पद खाली छ । गभर्नर नियुक्तिमा ढिला हुने देखिएपछि अर्थ मन्त्रालयले कामु गभर्नरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिएको थियो ।
गभर्नरमा नियुक्त पौडेलले अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका थिए । काठमाडौं विश्वविद्यालयका अध्यापकसमेत रहेका उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ ।