काठमाडौं — नेपाल राष्ट्र बैंकले दसैं र तिहारलाई लक्षित गरी शुक्रबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरिसकेको छ ।
राष्ट्र बैंकले गत वर्ष करीब १३ अर्ब रुपैयाँ बराबरको नयाँ तथा सुकिला नोट सटही गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नोट सटही गर्ने तयारी रहेको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था र अन्य संघरसंस्थालाई पहिलो साता देखि नै नोट वितरण गरिसकेको बैंकले जनाएको छ । सर्वसाधारणका लागि भने शुक्रबारबाट नोट सटही सुरु गर्ने बैंकले जनाएको छ ।
भवन निर्माणको काम भइरहेकाले यसपालि थापाथलीस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा दिन नसकिने बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए । सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर यो वर्ष बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नोट सटही सुविधा उपलब्ध गराउने उनले बताए ।
राष्ट्र बैंकका अनुसार यो वर्ष प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही गर्न पाउने छन् । सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एकरएक बन्डल (बिटा) नयाँ नोट सटही गर्न पाउँछन् ।
अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि सोही दरले नयाँ नोट सटही भएको राष्ट्र बैंकले जनाएको छ । पाँच सय र हजार दरका नोट भने आवश्यकताअनुसार सटही गर्न सकिने उनले बताए । राष्ट्र बैंकले गत वर्षजस्तै यो वर्ष पनि कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखाबाट नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।