काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ ।
सार्वजनिक यातायातको क्षेत्र सुधारका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेको रास्वपाले त्यसअघि सार्वजनिक यातायातमा यात्राको अनुभव लिन पाँच दिन सार्वजनिक यातायातका साधनमा यात्रा गर्न भनेको हो ।
सार्वजनिक यातायातको वर्तमान अवस्था नजिकबाट बुझ्ने र अनुभव गर्ने प्रक्रिया स्वरूप पाँच दिन आफ्नो निजी सवारी साधनको साटो सार्वजनिक यातायातको प्रयोग गर्ने प्रस्ताव गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले भने ।
‘नेपालमा सार्वजनिक यातायातमा धेरै सुधारको आवश्यकता छ र राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसमा सुधार ल्याउनको लागि एउटा खाका कोरेर स्पष्ट योजनासहित संघिय सदनमा सार्वजनिक महत्वको प्रस्ताव तयार गरिरहेको छ,’ कार्यवाहक प्रवक्ता झाले भने, ‘तर प्रस्तावित कानुनको तयारी गर्ने क्रममा कानुन बनाउने प्रक्रियामा आबद्ध जनप्रतिनिधिहरूले त्यसको यथार्थ अनुभव गर्न आवश्यक हुन्छ ।’
नागरिकको दैनिकी सहज भएमात्रै देशको अर्थतन्त्र पनि सुधार हुने भन्दै रास्वपाले नागरिकको दैनिकी सहज हुने एउटा प्रत्यक्ष कारण सार्वजनिक यातायातको सहजतापूर्ण र सुरक्षित सुविधा भएको ठहर गरेको छ ।