काठमाडौं – मुलुककै चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थापना दिवस चियापान कार्यक्रम गरेर मनाएको छ ।
राजनीतिका साथै विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा केन्द्रीय कार्यालय बालाजुमा शुक्रबार चियापान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता, मन्त्री, सांसद, कूटनीतिक नियोगका प्रतिनिधि, रास्वपा समर्थक र शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
चियापान समारोहमा सञ्चारकर्मीसँग बोल्दै सभापति लामिछानेले जनताको अपेक्षा पूरा गर्न आफूहरूले इमानदारीपूर्वक कोसिस गरिरहेको बताए । ‘जनताका अपेक्षा असाध्यै धेरै छन्, तिनलाई पूरा गर्न मिहिनेत र लगनका साथ काम गरिरहेका छौं,’ उनले भने, ‘वर्षौंदेखिको बेथिति चिर्न केही समय भने अवश्य लाग्छ ।’