रास्वपामा समानुपातिक उम्मेदवार हुन ५० हजार बुझाउनुपर्ने

101

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २२ कात्तिकदेखि समानुपातिक उम्मेदवारका लागि आवेदन खुला गरेको छ । रास्वपाले समानुपातिक तर्फ उम्मेदवार हुन इच्छुकका लागि ५० हजार रुपैयाँ शुल्क कायम गरेको छ ।

निर्वाचन आयोगको प्रारम्भिक कार्यतालिका अनुसार समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची पेस गर्ने मिति १८-१९ पुस तोकिएको छ ।

रास्वपाले उम्मेदवार छनोटको मापदण्ड बनाउनका लागि सहमहामन्त्री विपीन आचार्यलाई जिम्मेवारी तोकेको थियो ।उम्मेदवार हुनका लागि शुल्क ५० हजार रुपैयाँ कायम गरिएको सहमहामन्त्री आचार्यले जानकारी गराए ।

समानुपातिकको बन्द सूचीमा परेको तर पछि दलले प्राप्त गरेको मतको आधारमा कुनै व्यक्ति छनोट हुन नसक्ने अवस्था भयो भने पार्टीलाई बुझाएको रकम फिर्ता नहुने रास्वपाले जनाएको  छ ।

रास्वपाले रुपन्देही–३ को उपनिर्वाचनको उम्मेदवारका आवेदकका लागि २५ हजार रुपैयाँ तय गरेको थियो ।

रास्वपाले अघिल्लो चुनावमा प्रतिनिधिसभामा समानुपातिकतर्फ उम्मेदवार बनेकाहरूलाई यसपटक उम्मेदवार हुन नपाउने निर्णय लिएको छ ।

समाचार वर्गहरू