रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाउने आदेश

121

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले न्यायिक हिरासतमा पठाएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस नभएकाले न्यायिक हिरासतमा पठाइएको हो ।

काठमाडौं जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई न्यायिक हिरासतमा पठाएको हो ।

लामिछानेको बयान सकिएपछि थुनछेक बहसका लागि पूर्वमहान्यायाधीवक्ताद्वय सुशील पन्त र रमण श्रेष्ठ अदालत पुगेका थिए। तर सरकारी वकिलको कार्यालयले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने जानकारी इजलासमै गरेपछि न्यायाधीशले फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाए। यससँगै लामिछाने न्यायीक हिरासतमा पुगेका हुन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले थुनछेक बहसको अन्तिम आदेश नआएसम्म न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘उहाँलाई न्यायिक हिरासतमा पठाइएको हो । बयान सम्पन्न भए पनि थुनछेक बहस भएर अन्तिम आदेश नआएकाले न्यायिक हिरासतमा पठाइएको हो । सोमबारदेखि थुनछेक बहस हुन्छ,’ शर्माले भने ।

लामिछानेका तर्फबाट कानुन व्यवसायी यज्ञमणि न्यौपानेले थुनछेक बहस गर्नका लागि आग्रह गरिए पनि न्यायाधीशबाट समय अभावका कारण सम्भव नभएको भनी न्यायिक हिरासतमा पठाइएको जानकारी दिए । ‘इजलासमा बयान सकियो ।२०-२५मिनेट समय बाँकी थियो । लामिछानेका तर्फबाट थुनछेक बहस गरौं भन्ने प्रस्ताव गर्‍यौं तर सरकारी वकिलले अध्ययन गर्नुपर्नेछ भन्नुभयो । न्यायाधीशले पनि आज समय पुगेन भन्ने कुरा गर्नुभयो र प्रहरीको जिम्मा लगाउनुभयो,’ न्यौपानेले भने, ‘कानुन व्यवसायी वा परिवारको जिम्मा लगाइदिनुस् भन्दा न्यायाधीशले मान्नुभएन र प्रहरीको जिम्मा न्यायिक हिरासतमा पठाउनुभयो । अब भोलि थुनछेक बहस हुन्छ ।’

समाचार वर्गहरू