रुकुमपूर्वका प्रदेश सांसद धनबहादुर केसी कारागार चलान

154

काठमाडौं – रुकुमपूर्वबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद धनबहादुर केसी (डिबी) कारागार चलान भएका छन्। सांसद केसी आज आफैं रुकुमकोट जिल्ला अदालतमा पुगेर आत्मसर्मपण गरेपछि कारागार चलान भएका हुन्।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले रुकुमपूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद केसी आफै रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा उपस्थित भएको जानकारी दिए।

रुकुमपूर्वका प्रहरी प्रमुख तथा डीएसपी माधव राज खरेलले पनि रुकुमपूर्वबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद केसी रुकुमकोट जिल्ला अदालतमा आफै उपस्थित भएको र रुकुमकोट जिल्ला अदालतले तोकिएको सजाय भुक्तान गर्न रुकुम पश्चिम कारागार पठाएको बताए।

सांसद केसीलाई ३३ वर्ष पहिले साविक रुकुम जिल्ला अदालतले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना को फैसला सुनाएको थियो। तर त्यसयता सांसद केसी फरारको सूचीमा रहँदै आएका थिए।

श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतमा मुद्दा परेको र त्यसमा सांसद केसी दोषी ठहर भई अदालतले एक वर्ष कैद र दुई हजार रुपैयाँ जरिवाना गरे पनि हालसम्म सांसद केसीले सजाय भुक्तान भने गरेका थिएनन्।

समाचार वर्गहरू