बुटवल – रुपन्देहीमा उपचाररत थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलका २ र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको हो ।
भैरहवास्थित भीम अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको मंगलबार बिहान ६ बजे मृत्यु भएको हो । उनी दमको दीर्घरोगी थिए ।
भैरहवास्थित भीम अस्पतालमा उपचाररत लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४८ वर्षीया महिलाको गएराति मृत्यु भएको छ ।कार्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएपछि १८ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको सोमबार राति १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा.नारायण पोखरेलले बताए ।
यस्तै, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत कपिलवस्तुका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ का ७९ वर्षीय पुरुषको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कात्तिक २३ गते अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना भएका उनको सोमबार दिउँसो २ बजे पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति ९ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।