काठमाडौं – रुपन्देही क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा एकिकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी यथास्थितिमा राखेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले गुरुङको उम्मेदवारी दर्ता भएको अवस्थामा मात्र कायम रहने गरी यथास्थितिमा राखेको जनाएको छ ।
उम्मेदवारी खारेजीबारे निर्वाचन कार्यालयको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन आदेश दिएकाले उनको उम्मेदवारी यथास्थितिमा राखेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आइतबार उनको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार भएका गुरुङ चेक बाउन्स प्रकरणमा कालोसूचीमा नाम रहेको भन्दै उम्मेदवारी बदर गरेको थियो। गुरुङले उम्मेदवारी खारेज विरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण समेतको रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्चले यस विषयमा छलफल गर्न दुबै पक्षलाई कात्तिक २ गते बोलाएको छ ।