काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार बिहान ओली निवास बालकोटमा भेटवार्ता तथा छलफल भएको हो । सो भेटवार्तामा दुबै नेताका बिचमा समसमायिक राजनीतिका विषयमा कुराकानी भएको जनाइएको छ ।
भेटमा एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा अन्याय भएको रेशमलाई सुनाएका थिए। ‘हामीबीच राजनीतिक भेटघाट भएको हो। भेटमा उहाँले साह्रै अन्यायमा पर्नुभएको बताउनुभयो,’ रेशमले भने।
ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए। उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के-कस्ता यातना दिएको कुरा स्मरण गरेको रेशमले बताए। ‘उहाँको जेल जीवन पनि एकदमै कस्टकर थियो। उहाँले कसरी जेल पुर्याएको, कसरी गोलघरमा राखेको, जाडो, गर्मी कसरी कटाएको बारे बताउनुभयो,’ उनले भने।
जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाइ धन्यवादसमेत दिएका थिए । जाडोको बेला पठाइदिएको गिफ्टप्रति ओलीलाई भेटेरै धन्यवाद दिएका चौधरीले ओलीले जेल जीवनका बारेमा स्मरण सुनाएका थिए ।
यसअघि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायतसँग पनि भेटघाट गरेका थिए ।