बाढीपहिरोको तिन महिनापछी प्रभावितलाई बल्ल अस्थायी आवास निर्माण

76

काठमाडौं – गत असोज दोस्रो साता बाढीपहिरोले घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि रोशी गाउँपालिकाले अस्थायी आवास बनाउन थालेको छ ।

चिसो बढ्दै गएपछि बाढीपहिरोपीडित अझ प्रभावित हुने भएपछि पहिलो चरणमा घर पूर्ण रूपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार हाल वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको हो । यस वडामा ३० अस्थायी आवास निर्माण हुनेछ ।

विभिन्न सहयोगी संस्थाको साझेदारीमा विपद्पीडितको अस्थायी आवास निर्माण भइरहेको जनाइएको छ । “अस्थायी आवासले छिमेक एवं आफन्तको घरमा बसेका तथा तथा टहरामा बसेकालाई राहत पुग्नेछ, हामी सहयोग जुटाएर पहिलो चरणमा पूर्ण रूपमा घर क्षति भएकालाई अस्थायी आवास बनाउने क्रममा छौँ”, अध्यक्ष लामाले भने ।

उनका अनुसार बाढीपहिराले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियोभने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय, चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो । यस्तै बाढीपहिराले निर्माण सम्पन्न भएको डम्फू उद्यान, १० शय्याको अस्पताल, चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम बगाएको थियो ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा १२ जनाको ज्यान गएको थियोभने चार सय ८२ घर पूर्ण रूपमा तथा आठ सय ८३ घर आंशिक रूपमा क्षति पुगेको थियो ।

समाचार वर्गहरू