काठमाडौं – मुलुकमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आइतबार सुरु हुँदै छ ।
सम्मेलनमा स्थानीय, प्रदेश, संघ र निजी क्षेत्रका गरी १ सय ५० परियोजना प्रस्तुत गर्ने तयारी छ । दुईदिने सम्मेलनमा नेपालसहित ५५ देशका १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने नेपाल लगानी बोर्डले जनाएको छ ।
सम्मेलनमा ९ खर्ब बराबरका परियोजना प्रस्तुत गरिने बोर्डको भनाइ छ । केही दिनअघिदेखि नै मुलुकमा स्वदेशी तथा विदेशी लगानीकर्ताको आगमन सुरु भइसकेको बोर्डले बताएको छ ।
दुई दिन चल्ने सम्मेलनमा ६ वटाभन्दा बढी सत्र सञ्चालन हुनेछन् । ऊर्जा, यातायात, खानी तथा खनिज, पर्यटन, उत्पादन, औद्योगिक पूर्वाधार तथा व्यापार, स्वास्थ्य तथा शिक्षालगायत विविध क्षेत्रका परियोजना रहेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जनाए ।
२४ सयभन्दा बढीलाई निम्ता पठाइएकामा १६ सयभन्दा बढी सहभागी आउने सुनिश्चित भइसकेको लगानी बोर्डका प्रवक्ता उपाध्यायको भनाइ छ । सबैभन्दा बढी ३ सय ८५ जना स्वदेशी लगानीकर्ताको सहभागिता निश्चित भइसकेको छ ।
चीनबाट २ सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बंगलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदै छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।