लम्पी स्किन प्रकोपबाट बागमतीमा २७५ पशुचौपायाको मृत्यु

11

काठमाडौं – बागमती प्रदेशको १३ जिल्लामा लम्पी स्किन रोगबाट ९ हजार ३ सय ९१ पशुचौपाया संक्रमित भएको छ। पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका अनुसार संक्रमितमध्ये २ सय ७५ वटा पशुचौपाया को मृत्यु भएको छ।

जेठ ९ गतेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै मकवानपुर जिल्लामा ५ हजार ७७ गाई र पाँचवटा भैंसीमा लम्पी स्किन रोगको संक्रमण देखिएको पशुपन्छी तथा मत्स्य विकास  निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क छ।

तथ्याङ्क अनुसार मकवानपुरमा मात्र १ सय ९२ पशुचौपायाको मृत्यु भएको छ। चितवनमा २६ सय ७४ पशुचौपायामा संक्रण देखिएको र ५४ वटाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। नुवाकोटमा सातसय १६ पशुचौपायामा संक्रमण देखिएको र १ सय ४३ वटाको मृृत्यु भएको निर्देशनालयको तथ्यांक छ। सबैभन्दा कम रसुवा जिल्लामा ६ वटा पशुचौपायामा संक्रमण निर्देशनालयका अधिकृत रामहरि शर्माले बताए।

यो रोग लागेपछि पशुचौपायाको  पुच्छर वरिपरिका भाग, पेट र थुनलगायत शरीरका विभिन्न भागमा साना/ठुला गिर्खाहरू देखिने, एकसय ५ डिग्रीभन्दा बढी ज्वरो आउने, खुट्टा सुन्निने र दूध दिन छाड्ने लक्षण देखिने गरेको पशु प्राविधिकहरू बताउँछन्।

लम्पी स्किन रोग लागे ८० प्रतिशत दूध घट्ने, बाँझोपन हुने र १० प्रतिशतसम्म मृत्यु हुने अध्ययनले देखाएको छ। यो रोगको कुनै उपचार नहुने र भ्याकसिन मात्र लगाएर न्यूनीकरण गर्ने भएकाले  भ्याक्सिन लगाउने कार्यलाई स्थानीय तहमा प्राविधिकहरू खटाएर प्रदेश सरकारले काम गरिरहेको छ।

यो रोग नियन्त्रणका लागि पहल भएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन। निर्देशनालयका अधिकृत शर्माले भने, ‘यो संक्रमण नियन्त्रणमा आउन अझै केही समय लाग्ने देखिएको छ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू