ललितपुरको गठबन्धन पनि धरापमा, समाजवादीले हैसियत भन्दा बढि माग्यो – माओवादी

6

काठमाडौं – ललितपुर जिल्लामा पाँच दलीय गठबन्धन स्थानीय तहको भागबण्डा मिलाउन असफल भएको छ ।

शनिबार बसेको गठबन्धनको बैठकमा एमालेले जितेको महालक्ष्मी नगरपालिका र महाँकाल गाउँपालिकामा काङ्ग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दाबी गरेपछि भागबण्डा नमिलेको हो ।

तीन दिनदेखि जारी छलफलमा सहमति नजुटेपछि निर्णयको अधिकार प्रदेश र केन्द्रलाई दिइएको नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितेन्द्र मलेगुले बताए।

‘यसअघि जितेका तह सम्बन्धित पार्टीले लिने माथि सहमति भएकै छ, एमालेले जितेका दुई तहमा तीनै पार्टीले प्रमुख पाउनुपर्ने दाबी रह्यो,’ मलेगुले भने, ‘त्यसपछि त्यसको निर्णय प्रदेश र केन्द्रलाई गर्न लेखेर पठायौँ।’

एकीकृत समाजवादीका कारण ललितपुरको गठबन्धन धरापमा परेको माओवादी केन्द्रका एक नेता बताए। ‘ललितपुरमा एकीकृत समाजवादी पार्टीले गठबन्धन टुटाउने हिसाबले दाबी गरेको छ । महालक्ष्मी नगर र महांकालको प्रमुखसहित ४ पालिकाको उप मागेपछि कसरी गठबन्धन जोगिन्छ?’ उनको भनाई थियो ।

एकीकृत समाजवादीको अडानकै कारण सर्वसम्मत निर्णय गर्न नसकिएको ती नेताले दाबी गरे। ‘एकीकृत समाजवादीका कारण ललितपुरको गठबन्धन धरापमा पर्‍यो, उनीहरू जिल्लामा प्रमुख शक्ति मान्नुपर्छ भन्दै आक्रामक रुपमा प्रस्तुत भएका छन्’, ती नेताले थपे, कहीँ जनमत नभएको ठाउँमा पनि प्रमुख नै दाबी गरेपछि कसरी कुरा मिल्छ ?’

ललितपुरमा ६ स्थानीय तह मध्ये २०७४ मा काङ्ग्रेसले ललितपुर महानगर,गोदावरी नगरपालिका र बागमती गाउँपालिका सहित तिन नेकपा एमालेले महालक्ष्मी नगरपालिका र महांकाल गाउँपालिका गरि दुई र माओवादी केन्द्रले कोन्ज्योसोम गाउँपालिका जितेको थियो।

समाचार वर्गहरू