ललितपुर – ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि भरतलाल जोशी र मनोजबहादुर न्याछ्योंबीच प्रतिस्पर्धा हुने भएको छ ।
संघको ४१ औ वार्षिक साधारण सभाको अवसरमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदका लागि जोशी र न्याछ्योंको उम्मेदवारी परेको हो ।
निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै वरिष्ठ उपाध्यक्षमा जोशीको प्यानलबाट बालकृष्ण श्रेष्ठ, उपाध्यक्षमा उद्योगका तर्फबाट अमिरराज ताम्राकार, वाणिज्यबाट उसन बज्राचार्य, संस्थागत तर्फबाट राजेन्द्र कुमार श्रेष्ठको उम्मेदवारी परेको जनाएको छ ।
यस्तै, न्याछ्योंको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विश्वराज बज्राचार्य र उपाध्यक्षमा उद्योगबाट सुसन महर्जन, वाणिज्यबाट नारायण गोपाल श्रेष्ठ, संस्थागत तर्फबाट वीरेन्द्रलाल श्रेष्ठको उम्मेवारी परेको छ ।
संघमा उपाध्यक्षमा उद्योग, वाणिज्य, संस्थागत र एशोसिएट तर्फबाट चार जना रहने व्यवस्था छ । मतदान यही पुस १८ गते बिहान ८ देखि दिउँसो ३ बजेसम्म पाटनमा हुनेछ । निर्वाचन समितिका अनुसार एक हजार ३ सय २० जनाले मतदान गर्ने छन् ।