कञ्चनपुर – अवैध लागूऔषध खैरो हेरोईनसहित कञ्चनपुरबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका-४ शान्तिपुरस्थित सडकबाट करिब १९ ग्राम २ सय ६० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय शेर बहादुर चन्द र ४० वर्षीय मनोज बिष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरीले यूपी ३१ एजेड ३८१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलका चालक चन्दले हेलमेटभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी मोटरसाइकलमा सवार बिष्ट समेतलाई पक्राउ गरेको हो ।
यसैगरी, कञ्चनपुर, लालझाडी गाउँपालिका-६ चान्देवस्थित सडकबाट करिब ७ ग्राम २ सय १० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित बेलडाँडी गाउँपालिका-३ बस्ने ४५ वर्षीय हरि प्रसाद चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरीले से.१ प ६६९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक चौधरीले शरीरमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।