लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन

14

(धनगढी) – लिटल फ्लावर स्कूलले धनगढी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको उपाधि उचालेको छ । मंगलवार भएको फाईनलमा हिमालय ह्वाईट हाउस वर्ल्ड स्कूल काठमाडौंलाई ९ विकेटले हराउँदै ऊ च्याम्पियन बनेको हो ।

कप्तान विपिन रावल र सुवाश ऐरले उत्कृृष्ट प्रदर्शन गरेपछि लिटल फ्लावर लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । तेस्रो संस्करणमा लिटल फ्लावर लिटिल वुद्ध एकेडेमीलाई हराएर च्याम्पियन बनेकोे थियो ।

चौंथो संस्करणको विजेता भएसँगै लिटल फ्लावरले नगद २ लाख सहित ट्रफी पाए । उपविजेता हिमालय ह्वाईट हाउसले एक लाख नगद सहित ट्रफी पाएको छ ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको फाईनल खेलमा टस जितेर पहिले व्याटिंग गर्दै हिमालय ह्वाईट हाउसले दिएकोे एक सय ३८ रनको लक्ष्य लिटल फ्लावरले ११ बल बाँकी रहदै भेट्टायो । १८ दशमलव १ ओभरमा जित हात पार्नका लागि सुवाश ऐर र कप्तान विपिन रावलले उत्कृष्ट प्रदर्शन गरे ।

सुवाशले ५४ बलमा ३ छक्का र ९ चौकाको मदत्तमा अविजित ६८ रनको पारी खेल्दा विपिनले ३८ वलमा ३ छक्का र ४ चौकाको सहयोगमा ४७ रन बनाए । दुवै ओपनर व्याट्सम्यानले पहिलो विकेटका लागि एक सय ३ रनको शतकीय साझेदारी समेत गरे । हिमालय ह्वाईट हाउसका विक्रम ठगुन्नाले कप्तान विपिन रावललाई अर्धशतक बनाउनबाट रोक्दै क्याच आउट गराएपछि मैदान प्रवेश गरेका लिटल फ्लावरका नरेन भट्टले अविजित १२ रन जोडे ।

यसअघि टस जितेर पहिले व्याटिंग गरेको हिमालय ह्वाईट हाउसले उत्कृष्ट सुरुवात गरेपनि मध्यक्रमको पारी धर्मराउँदा उसले २० ओभरमा एक सय ३७ रन बनायो । हिमालयका लागि ओपनरद्धय दिपक वोहोराले ३४ रन र सुदीप वस्स्नेतले १८ रन बनाए ।

उनीहरुले पहिलो विकेटका लागि ६ ओभरमा ६१ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । त्यसपछि हिमालयको मध्यक्रम मैदानमा टिक्क सकेन् । छैटौं नम्बरमा मैदान छिरेका सुमीत श्रेष्ठले २५ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । लिटल फ्लावरका लागि दिपक रोकाया र अनुराग सिंहले दुई दुई विकेट लिँदा विपिन रावलले एक विकेट लिए ।

फाईनल खेलमा अविजित ६८ रन बनाएका लिटल फ्लावरका सुवाश ऐर म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित टफी पाए । कार्तिक १६ गतेदेखि कार्तिक २६ गतेसम्म धनगढीमा सञ्चालन गरिएको प्रतियोगिताका उत्कृष्ट खेलाडी हिमालय ह्वाईट हाउसका आरियो पौडेल भएका छन् ।

उनले नगद १५ हजार रुपैयाँ पाएका छन् । त्यस्तै प्रतियोगितामा शारदा विद्या निकेतनका विरेन्द्र नाथ उत्कृष्ट ब्याट्सम्यान, लिटल फ्लावर स्कुलका दिपक रोकाया उत्कृष्ट बलर र लिटल फ्लावरका अनुराग सिंह उदयमान खेलाडी बनेका छन् । उनीहरुले जनही नगद ५ हजार रुपैयाँ पाए ।

समाचार वर्गहरू