लिपुलेक अतिक्रमण बारे नेपाल बोल्न पर्छ : नेता पौडेल

14

(झापा) – नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले बेइजिङ्गमा लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने भारत र चीनका प्रधानमन्त्रीले गरेको सहमतिका बारेमा पनि नेपालले बोल्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस झापाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै वरिष्ठ नेता पौडेलले लिपुलेख त्रिदेशीय सिमानामा पर्ने नेपाली भूमि भएकाले नेपालको समेत सहभागिताका सो सहमति हुनुपर्ने बताए ।

उनले भने, लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्ने विषयमा नेपालको समेत सहभागिता हुनुपर्ने हो । तर नेपाललाई बाहिर राखेको विषयमा पनि कुरा गर्नुपर्छ । पौडेलले दुई तिहाईको सरकार अनि प्रतिपक्षको साथ भएको बेलामा सरकारले कूतनीतिक पहल गरेर सीमा विवाद समाधान गर्न नसके कम्युनिष्टहरुले राष्ट्रवादको नारा लगाउन छोड्नुपर्ने बताए ।

उनले अहिले जस्तो उपयुक्त मौका सीमा विवादको अन्त्य गर्ने विषयले प्रधानमन्त्री केपी ओलीको गफ र काम के हो भन्ने छुटिने बताए ।

पौडेलले सरकारले जनताका आवश्यक के हुन भन्ने विषयलाई छुटायाउन नसकेको बताए । पौडेलले भने, सरकारले जनताका आवश्यकता खुट्याउन सकेन । जनतालाई खानेपानी चाहिएको छ । प्रधानमन्त्री पानी जहाजको कुरा गर्नुहुन्छ । जनतालाई सडक चाहिएको छ । तर सरकार रेल ल्याउने कुरा गर्छ ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ तर कम्युनिष्टहरु जे बोल्छन त्यो गर्नै सक्दैनन् । पौडेलले कम्युनिष्ट नेताहरुको दैनिकी कांग्रेसले बनाउन सुरु गरेको संरचनाको उदघाटन गर्न जाने अनि फोटो खिच्ने र कांग्रेसलाई गाली गर्ने मात्र भएको बताए ।

उनले भने, ‘अहिलेको सरकारले कुनै नयाँ र ठुला योजना संचालन गर्न सकेको छैन् । कांग्रेस सरकारका पालामा काम सुरु भएका संरचनाको उदघाटन गर्ने , फोटो खिच्ने अनि कांग्रेसले केहि गरेन भनेर गाली गर्ने काम कम्युनिष्ट नेताहरुको दैनिकी जस्तै भएको छ ।’

वरिष्ठ नेता पौडेलले कांग्रेस कार्यकर्ताले आफुलाई जनतासंग जोडेर कम्युनिष्टहरुको गरेको राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने बताए ।

पौडेलले राजनीतिमा गुटबन्दी स्वभाविक भएपनि गुटबन्दी व्यवस्थापन गर्न नसक्दा कांग्रेस कमजोर भएको बताए । उनले राजनीतिमा गुटबन्दी सत्ययुगदेखि नै भएको बताउँदै तटस्थ बस्ने कार्यकर्ता आफुलाई असुरक्षित भएको महसुस गरी गुटमा लाग्ने बताए ।

उनले भने, ‘तटस्थ कार्यकर्ता आफुलाई असुरक्षित महसुस गरी गुटमा लाग्छ । तर नेतृत्वले व्यवस्थापन गर्दा आम कार्यकर्तालाई असुरक्षित महसुस हुन दिनु हुँदैन् । गुटको व्यवस्थापन भनेको यही हो । कांग्रेसको यो हुन सकेको छैन् ।’

समाचार वर्गहरू