(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
क्रिष्टलको मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४९ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए । क्रिष्टलका विल्फ्रिड जाहाले एक गोल फर्काए ।
खेलको ८२ औं मिनेटमा जाहाले गोल गर्दै क्रिष्टललाई १ १ गोलको बराबरीमा फर्काए । तर, खेलको ८५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २१ को जित दिलाए ।
जितसँगै लिभरपुलले शीर्ष स्थानको अग्रता कायम राखेको छ । लिभरपुलले १३ खेलबाट ३७ अंक जोडेको छ । १५ अंक जोडेको क्रिष्टल १३ औं स्थानमा रहेको छ ।
यस्तै, लिग अन्तर्गत आर्सनलले घरेलु मैदानमा बराबरी खेल्दै अंक बाडेको छ । शनिबार राति भएको खेलमा आर्सनलले साउथह्याम्पटनसँग २-२ गोलको बराबरी खेलेको हो । यो बराबरीसँगै आर्सनलले १२ खेलबाट १७ अंक जोडेको छ । आर्सनल लिगको आठौं स्थानमा रहेको छ । ८ अंक जोडेको साउथह्याम्पटन पुछारमा रहेको छ ।
लिग अन्तर्गत लेष्टर सिटीले ब्राइटनलाई २-० ले हराएको छ । यस्तै, नर्विचले एभर्टनलाई २-० ले पराजित गर्दा बर्नलीले वाट्फोर्डलाई ३-० ले हराएको छ । त्यस्तै वुल्भ्सले बर्नेमाउथलाई २-१ ले हराएको छ ।