(एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले आफ्नो अग्रतालाई फराकिलो बनाएको छ । शनिबार भएकाे खेलमा साउथह्याम्टनलाई ४-० गाेल अन्तरले हराउँदै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अग्रता २२ अङ्कमा पुर्याएको छ ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा गोल गरेको थियो । एनफिल्डमा भएको खेलमा लिभरपुलले जित निकालेसँगै उसको उपाधि यात्रा झन् बलियो बनेको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा लिभरपुलले चार गोल गर्याे ।
खेलको ४७ औँ मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । त्यसपछि ६०औँ मिनेटमा जाेर्डन हेन्डरसनको गोलमा लिभरपुलले खेलमा दुई–शून्यकाे अग्रता बनायाे । खेलकाे ७१ औँ र ९० मिनेटमा मोहम्मद सलाहले गोल गर्दा लिभरपुलले चार शून्यकाे फराकिलाे जित निकाल्याे ।
यो जितपछि लिभरपुलले २५ खेलमा ७३ अङ्क बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक रहेको छ । पराजित साउथह्याम्पटन ३१ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एभर्टनले वाट्फोर्डलाई ३-२ गोल अन्तरले पराजित गर्दा बर्नेमाउथले एस्टन भिल्लालाई २-१ ले हराएको छ ।
सेफिल्डले क्रिस्टल प्यालेसलाई १-० ले पराजित गर्दा वेष्ट ह्याम र ब्राइटन ३-३ गोल तथा न्युकासल र नर्विच गोलरहित बराबरीमा रोकिएका छन् ।