काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् ।
साउन ७ गते लुम्बिनी प्रदेशसभामा दुई ठूला दल एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका आचार्यले आज बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५औं बैठकमा विश्वासको मत लिन थालेका हुन् ।
८७ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न बुहमत ४४ सांसद आवश्यक भए पनि कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा आचार्य लुम्बिनीको छैटौं मुख्यमन्त्री बनेका थिए ।
अहिले लुम्बिनीमा रहेका ११ दलमध्ये ७ दलका सांसदले विश्वासको मत दिने भएका छन् । स्वतन्त्र सांसद खड्ग बस्नेतले पनि आचार्यको पक्षमा मत दिने भएका छन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्थाअनुसार आज दिउँसो १ बजे लुम्बिनी प्रदेशसभामा आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।