लेखापढी व्यवसायी आन्दोलित : अनिश्चितकालीन पेनडाउन घोषणा

79

ललितपुर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशन, पाटन ईकाई समितिले आफ्ना व्यवसायीहरूमाथि प्रहरीले गरेको धरपकड र गिरफ्तारीप्रति कडा आपत्ति जनाउँदै सशक्त आन्दोलनको घोषणा गरेको छ । आज एक विज्ञाप्ति जारी गर्दै एशोसिएशनले भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरबाट आधार र प्रमाणबिना व्यवसायीहरूलाई ‘बिचौलिया’को संज्ञा दिएर गिरफ्तार गरिएको भन्दै उक्त कार्यको भर्त्सना गरेको छ ।

एशोसिएशनका अनुसार मिति २०८२ चैत २२ गतेका दिन मालपोत कार्यालय ललितपुरमा कार्यरत व्यवसायीहरूलाई प्रहरी प्रशासनले धरपकड गरी प्रहरी परिसर जावलाखेल पुऱ्याएको थियो । कानूनी रूपमा अनुमति प्राप्त गरी सञ्चालनमा रहेका भू–सेवा केन्द्रका सञ्चालक र लेखापढी व्यवसायीहरूलाई अपराधीको शैलीमा पक्राउ गरिएकोमा समितिले दुःख व्यक्त गरेको छ ।

समितिका सचिव भरत घिमिरेद्वारा हस्ताक्षरित विज्ञाप्तिमा भनिएको छ, ‘नेपाल कानून व्यवसायी परिषद् ऐन २०५० र लेखापढी व्यवसायी सम्बन्धी नियमावली २०५१ अन्तर्गत अदालतबाट प्रमाणपत्र प्राप्त गरी हामीले सेवा दिँदै आएका छौँ । साथै भूमि व्यवस्थापन तथा अभिलेख विभागको निर्देशिका २०७६ बमोजिम भू–सेवा केन्द्र सञ्चालन गरिरहेका व्यवसायीलाई बिचौलिया भन्नु सरासर गलत र अपमानजनक छ ।’

प्रहरीको व्यवहारले पेशागत मर्यादा र संवैधानिक हक अधिकारमाथि आघात पुगेको निष्कर्ष निकाल्दै एशोसिएशनले विरोध स्वरूप नेपालभरिका लेखापढी व्यवसायीहरुले अर्को निर्णय नहुन्जेलका लागि पेन डाउन गर्ने निर्णय गरेका छन् ।

पेन डाउनका क्रममा कोही व्यवसायीले लुकिछिपी सेवा सुचारु गरेको पाइएमा विधान बमोजिम कारबाही गरिने र भविष्यमा संस्थाले कुनै पनि सहयोग नगर्ने स्पष्ट पारिएको छ । एशोसिएशनले राज्य पक्षबाट भएको अपमानजनक व्यवहार सच्चिएर निर्वाध रूपमा पेशा व्यवसाय गर्ने वातावरण सुनिश्चित नहुन्जेलसम्म आन्दोलन जारी रहने जनाएको छ । हिजो पक्राउ परेका लेखापढी व्यवसायीहरु छुटिसकेका छन् ।

यसैगरी, सरकारी कार्यालयहरूमा बिचौलियामाथि भइरहेको धरपकडको विरोध गर्दै पर्साका लेखापढी व्यवसायीहरूले जिल्लाभर अनिश्चितकालीन हड्ताल सुरु गरेका छन्।नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा आजदेखि मालपोत, नापी, भूमिसुधार, अदालत तथा जिल्ला प्रशासन कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरूले कामकाज पूर्ण रूपमा ठप्प पारेका हुन्।

एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवका अनुसार पछिल्लो समय बिचौलियाको आरोप लगाउँदै गरिएका पक्राउ तथा कारबाहीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन थालिएको हो। विशेषगरी पोखरिया मालपोत कार्यालयबाट तीन जना पक्राउ परेपछि व्यवसायीहरू थप आक्रोशित बनेका छन्। उनीहरूले कानुनी प्रक्रिया पूरा गरेर सञ्चालनमा रहेका भू(सेवा केन्द्र र लेखापढी व्यवसायीमाथि अन्यायपूर्ण रूपमा कारबाही गरिएको आरोप लगाएका छन्।

पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्नुपर्ने मागसहित सरकार र प्रहरी प्रशासनको कदमप्रति व्यवसायीहरूले कडा आपत्ति जनाएका छन्। एसोसिएसनका अनुसार पर्सा जिल्लामा हाल १ सय २१ वटा भू-सेवा केन्द्र र ४ सयभन्दा बढी लेखापढी व्यवसायी सक्रिय रहेका छन्। हडतालका कारण सेवाग्राहीहरू प्रभावित भएका छन् भने सरकारी कार्यालयहरूको कामकाजसमेत प्रभावित बनेको छ।

समाचार वर्गहरू