लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलमाथि अनुसन्धान गर्न उच्च अदालतको परमादेश

80

काठमाडौं – सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।

राजनीतिक शक्तिको आडमा ठगीमा जाहेरी दर्ता गर्नबाट प्रहरीलाई रोक्न सफल रहेका पोखरेलविरुद्धको जाहेरी दर्ता गरी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङका नाममा उच्च अदालतबाट परमादेश जारी भएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको इजलासले अनिलकुमार पोखरेलविरुद्ध जाहेरी दर्ता गरी कानुनअनुसार अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई आदेश दिएको हो । उक्त आदेश पुस ११ मा प्रमाणीकरण भएको थियो ।

बौआलाल चौधरीकी छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भनेर अनिलकुमार पोखरेलले ३८ लाख ८० हजार रुपैयाँ लिएको अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।

अनिल पोखरेल बिहीबार संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको सभापतिको कार्यकक्षमा पुगेका थिए । उच्च अदालतबाट उनका विरुद्धमा जाहेरी दर्ता गर्नू भनी प्रहरीलाई दिएको आदेश भने पुस ११ मै प्रमाणीकरण भएको थियो ।

लेखा समिति सभापति भने पछिल्लो समय मोरङमा नै रहँदै आएका छन् । उनकी श्रीमती अञ्जला कोइरालाविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको छ । कोइरालालाई प्रहरीले पक्राउ गरेको छैन भने पोखरेलले शिक्षक रहेकी श्रीमतीका लागि अनिश्चितकालीन विदा दिन भन्दै उनी कार्यरत स्कुलमा पत्र लेखेर दबाब दिएका छन् ।

समाचार वर्गहरू