काठमाडौं – जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ आसपासमा कर्फ्यू आदेश जारी गरेको छ।
मोरङको लेटाङ नगरपालिकामा विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा आइतबार झडपले उग्ररुप लिएपछि मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुञ्जेलसम्म प्रशासनले कर्फ्यू लगाएको हो ।
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको अभियोग लागेका शिक्षकलाई पक्राउ गर्न आइतबार खटिएको प्रहरी टोलीमाथि नै आक्रमण हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो। झडपपछि स्थिति तनावपूर्ण बनेकाले लेटाङमा बिहानैबाट कर्फ्यू आदेश जारी गरिएको प्रहरिले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार लेटाङको वडा नं. ३, वडा नं.४ को पश्चिम एरिया गङ्गे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटाङको वडा नम्बर ६ को कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको छ।