(एजेन्सी)- लेष्टर सिटीले आर्सनल २-० गोल अन्तरले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार शनिबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीले आर्सनललाई हराएको हो ।
आर्सनलमाथिको महत्वपूर्ण जितसँगै लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले चेल्सी र एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । लेष्टर सिटीको जितमा ज्यामी भर्डी र जेम्स माडिसनले समान १–१ गोल गरे ।
पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफमा लेष्टर सिटीले उत्कृष्ट पुनरागमन गर्दै आर्सनल विरुद्ध दुई गोल गर्यो । खेलको ६८ औं मिनेटमा जेमी भर्डीले गोल गर्दै लेष्टर सिटीलाई अग्रता दिलाएका थिए । खेलको ७५ औं मिनेटमा गेम्स माडिसनले गरेको गोल नै लेष्टर सिटीको जितको लागि पर्याप्त बन्यो ।
यो जितसँगै लेष्टर सिटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । लेष्टरको १२ खेलबाट २६ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । उसको ११ खेलबाट ३१ अंक छ ।
शीर्ष स्थानको लिभरपुल भन्दा लेस्टर ५ अंकले पछाडि छ । आर्सनल १७ अंक सहित छैटौं स्थानमा छ । सन् २०१५–१६ को च्याम्पियन लेस्टरले पहिलो हाफमा गोलका धेरै अवसरहरु गुमाएको थियो ।
प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम सेफिल्ड युनाईटेडसँग १–१ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।
यो हारसँगै टोटेनहमले १२ खेलबाट १४ अंक जोडेको छ । र, टोटेनहमले १२ औं स्थानमा रहेको छ । १२ खेलमा १७ अंक जोडेको सेफिल्ड भने पाँचौं स्थानमा उक्लिएको छ ।
यस्तै अर्को खेलमा एभर्टनले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । प्रिमियर लिगकै अर्काे खेलमा बर्नलीले वेष्ट ह्यामलाई ३-० ले पराजित गर्दा न्युकासलले बर्नेमाउथलाई २-१ ले हराएको छ ।