लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी हुन दिन्न : प्रधानमन्त्री

8

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका छन् । नेपाली काँग्रेसले बडा दशैं लगायत विभिन्न चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रप्रतिको मूल्य र मान्यतामा तलमाथी पर्न नदिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल ४५ वर्ष देखिका आफ्ना साथी भएको स्मरण गर्दै आफ्नो लोकतन्त्रप्रतिको निष्ठा उहाँहरुलाई राम्ररी जानकारी भएको बताए ।

उनले भने, “शेरबहादुर देउवा, रामचन्द्र पौडेल मेरा ४५ वर्ष देखिका साथी हुनुहुन्छ । उहाँहरुलाई लोकतन्त्रप्रतिको मेरो निष्ठा राम्रैसँग थाहा छ । त्यो निष्ठालाई म तलमाथी हुन दिन्न ।”

प्रधानमन्त्री ओलीले दशैं लगायतका चाडवाडले नेपालीको संस्कृतिलाई जीवन्त राख्ने मात्र नभइ आपसी सम्बन्धलाई पनि बलियो बनाउने बताए ।

“यस प्रकारका चाड र शुभकामनाका कार्यक्रमले राजनीतिक दलहरु बीचको कटुतालाई पनि अन्त्य गर्छन्” प्रधानमन्त्री ओलीले भने, “तर अहिले त हामीमा कटुता हैन मित्रता छ । यस कार्यक्रमले हाम्रो मित्रतालाई थप बलियो बनाएको महसुस मैले गरेको छु ।”

समाचार वर्गहरू