काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउने कुनै काम नगर्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले शनिबार विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफ्नो ठाउँबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउने कुनै काम नहुने बताए ।
‘म तपाईंहरूलाई के विश्वास दिलाउन चाहान्छु भने मेरो तागतले भ्याएसम्म र म यो भूमिकामा रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन दिने छैन, त्यस्तो काम गर्ने छैन,’ राष्ट्रपति पौडेलले भने ।
उनले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिबद्धता समेत जनाए । उनले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकता रहेको बताए । ‘सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्त्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ,’ उनले भने ।