काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धनका विषयमा शंका गर्नुपर्ने कारण नभएको बताएका छन्।
कांग्रेस नेता प्रदीप गिरिको दोस्रो स्मृति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै देउवाले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोचेरै सहमति गरेको बताएका हुन्।
उनले दुई पार्टीमात्रै होइन अन्यलाई पनि समेटेको बताएका छन्। ‘सहमति लुकेको छैन, देखाएरै गरेको सहमति हो,’ उनले भने, ‘सबै पार्टीहरुलाई साथसाथै लिएर जाने हो।’
माओवादीलगायतका ललाई एक गरेर मुलुकको समृद्धि र विकासमा अघि बढ्ने उनको भनाइ छ। सभापति देउवाले षड्यन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे।
संविधान कार्यान्वयनका क्रममा आएका समस्या समाधान हुने गरी संविधान संशोधन हुनुपर्नेमा पनि सभापति देउवाको जोड थियो । “देशलाई अघि बढाउने सोच विचार गरिकन दुई दलबीच सहमति भएको हो, यो सहमतिलाई कुनै दल विशेषले आफ्नाविरुद्ध भएको हो भनी बुझ्नु गलत हुनेछ, दुई ठूला दलबीच भएको सहमति लुकाएका छैनौँ, यसलाई लिखित रुपमै सार्वजनिक गरेका छौँ”, पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले भने ।