वाणिज्य बैंकमा खाता खोल्ने ग्राहकलाई टेलिकमको सिम निःशुल्क

17

(काठमाडाैं) –  राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ ।

यस सम्बन्धी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच बिहीबार सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता समारोहमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको सबभन्दा ठूलो दूरसञ्चार कम्पनी र सबैभन्दा बढी वित्तीय सञ्जाल भएको राष्ट्रिय वाणिज्य बैंकबीचको सहकार्यले दुवै संस्थाको व्यवसाय अभिवृद्धि हुनुका साथै कार्यक्षमतामा समेत बढोत्तरी हुने बताए ।

दुई संस्थाको सहकार्यबाट डिजिटल अर्थतन्त्र निर्माणका लागि प्रभावकारी वातावरण बन्नुका साथै मुलुकभरका जनता वित्तीय पहुँचमा पुग्ने बताए ।

सोही कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २ करोड भन्दा बढी ग्राहक संख्या भएको नेपाल टेलिकम र ३० लाख बढी सेवाग्राही भएको राष्ट्रिय वाणिज्य बैैंकबीच भएको यो सम्झौताले आम सेवाग्राहीहरु वित्तीय र प्रविधिगत रुपले निकै लाभान्वित हुने बताए ।

यो सहकार्यबाट दुबै संस्थाले व्यवसायमा समेत ठूलो फड्को मार्ने विश्वास उनको थियो । बैैंकले मुलुकभर भएका २ सय ३८ वटै शाखाबाट नयाँ खाता खोल्ने ग्राहकलाई कम्पनीको सिम निः शुल्क रुपमा उपलब्ध गराउने छ । सो सिममा ५० रुपैयाँ टक भ्यालु समेत हुनेछ ।

समाचार वर्गहरू