काठमाडौं – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई विशेष अदालतले २ वर्ष कैद सजाय सुनाएको छ ।
सरकारी पदमा रहदाँ रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लागेको पौडेललाई थप १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ जरिवानाको सजाय पनि तोकिएको छ। विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले पौडेललाई उक्त सजाय सुनाएको हो ।
भ्रष्टाचार कसुरमा दोषी ठहर भएको भन्दै १ वर्ष ६ महिना र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएर पदीय दुरुपयोग गरेको कसुरमा पौडेललाई थप ६ महिना गरी २ वर्ष कैद सजाय सुनाइएको हो ।
प्रिन्टिङ मेसिन खरिदका लागि ७६ करोड रुपैयाँ विनियोजन भएकोमा खरिद गुरुयोजना र कार्यान्वयन योजना एवं स्वीकृत कार्यक्रम भन्दा बाहिर गई पेपर बेस्ड र कार्ड बेस्ड प्रिन्टिङ मेसिन खरिद गरी ४० करोड ७५ लाख रुपैयाँ हानी नोक्सानी भएको ठहर अदालतले गरेको छ ।